अन्तिम १६ मा रियल पर्दा आयाक्सका खेलाडी हर्षित

च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सोमबार सार्वजनिक भयो । तालिका अनुसार साविक विजेता रियल म्याड्रिडले डच टोली आयाक्ससँग खेल्ने भएको छ । आयाक्स कप्तान डेली ब्लिन्डले आयाक्सका खेलाडी च्याम्पियन्स लिगमा रियलसँग खेल्ने पक्का भएपछि खुसीले हो-हल्ला गरेको बताए । ड्र को समयमा सबै खेलाडी प्रशिक्षण केन्द्रमा थिए र सबै खुसीले मग्न थिए । खेलाडीहरु टेबल ठटाउँदै टिभी अगाडी नाचेका थिए ।

रियल पछिल्लो साता समूह चरणको अन्तिम खेलमा सीएसकेए मस्कोसँग ३-० ले पराजित भएपछि आयाक्सका खेलाडीले खुसी मनाएका हुन् ।’ रियल एकदम राम्रो टोली हो । तर हामी पनि अत्मविश्वाशी हुनुपर्छ,’ उनले प्रशिक्षण मैदानमा हर्षित भएको क्षण सम्झंदै भने ।

‘ हामीले रियललाई पराजित गर्न सक्छौं । हामीसंग त्यसका लागि पर्याप्त विश्राम र सुधार्ने समयरहेको छ,’ उनले थपे, ‘ हामीले पछिल्लो केहि खेल हेर्ने हो भने बायर्नजस्तो टोलीसँग पनि डटेर प्रतिस्पर्धा गरेका छौं । चाहे त्यो घरेलु मैदान होस् या अवे ।’

‘हामीले त्यहि जोश, बहादुरी र जाँगर देखाएर खेल्ने हो भने हाम्रो केहि सम्भावना रहन्छ । हामीले खेललाई गम्भीर रुपमा लिएका छौं,’ ब्लिन्डले भने, ‘ म्याड्रिड उपाधिको साविक विजेता हो । लगातार तीन पटक जितेको टोलीलाई हराउन सहज हुने छैन । अर्को चरणमा पुग्न असम्भव भने छैन । ‘