अन्तिम समयमा गोल गर्दै बार्सिलोना हारबाट जोगियो

शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसंग १ – १ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिकोको घरेलु मैदानमा अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले अंक बाडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ७७ औं मिनेटमा डिएगो कोष्टाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बार्सिलोनाका लागि ओसुमाने डेम्बेले नायक बने । खेलको अन्तिम समय ९० औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् । घरेलु टोलीले भने अन्तिम समय सम्हालिन नसक्दा एक अंकमा चित्त बुझाएको छ ।

यो बराबरीसंगै बार्सिलोनाले शीर्ष स्थानको दुरी फराकिलो बनाउने मौका गुमाएको छ । बराबरीपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाले १३ खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको बार्सिलोनाभन्दा एक अंकले पछि छ । एट्लेटिकोको १३ खेलबाट २४ अंक छ ।