अन्तिम समयमा उपहार गोलको मदतले नापोलीमाथि युभेन्टसको जित

इटालियन सिरी ए फुटबलमा युभेन्टसले भाग्यशाली जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले पाहुना टोली नापोलीमाथि अन्तिम समयमा उपहार गोलको मदतले ४-३ को जित हासिल गर्न सफल भए ।

युभेन्टसले खेलको ६२औं मिनेटमा पुग्दा ३-० को अग्रता लिएको थियो। ८१औं मिनेट मै नापोली खेलमा फर्किदै ३-३ पुराएको थियो।

तर अन्तिम समयमा पाएको उपहार गोलले युभेन्टसले खेल जित्दै ३ अंक हासिल गरे । युभेन्टसका लागि खेलको १६औं मिनेटमा डिफेन्डर ड्यानिलोले पहिलो गोल गरेका थिए । त्यसको ३ मिनेटमै गोन्जालो हिगुइनले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ६२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई ३–० को लिड दिए । त्यसबेलासम्म सहज अवस्थामा रहेको युभेन्टसले ३ मिनेटको बीचमा २ गोल खायो । खेलको ६६औं मिनेटमा कोेस्टास मोनालासले गोल गरेर खेल ३–१ मा झार्दा ६८औं मिनेटमा नयाँ खेलाडी हार्भिङ लोजानोले गोल गर्दै खेल ३–२ बनाए । फेरि खेलको ८१औं मिनेटमा नापोलीका लागि जिओभानी डि लोरेन्जोले गोल गर्दै ३–० ले पछि परेको टिमलाई ३–३ मा ल्याए ।

त्यसपछि बराबरीतर्फ अघि बढेको खेलमा अन्तिम समयमा युभेन्टस भाग्यमानी रह्यो । इन्जुरी समयको दोस्रो मिनेटमा नापोलीका डिफेन्डर कालिडोउ कोउलीबालीले फ्रि किकमा आएको बल बक्सभित्र क्लियर गर्न खोज्दा उनको खुट्टामा लाग्दै सहजै पोस्टमा छिरेपछि युभेन्टसले ४–३ को जित निकाल्यो ।

यो कठिन जितपछि युभेन्टसले लिगका दुई खेलमा स्पष्ट जित निकालेर अंक तािलकाको शीर्ष स्थानमा उक्लिएको छ ।