अन्तिम मिनेटमा गोल गर्दै ब्राजिलको अर्जेन्टिना माथी जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनामाथि कठिन जित निकाल्दै ‘सुपर क्लासिको’को उपाधि जितेको छ ।

गत राति साउदी अरेबियामा भएको दुई चीर प्रतिद्वन्द्वीबीचको खेलमा ब्राजिलले अन्तिम समयमा गोल गर्दै १–० ले खेल जितेर उपाधि रक्षा गरेको हो । यस प्रतियोगितालाई सुपर क्लासिको नाम दिइएको थियो ।

आफ्ना स्टार लिओनल मेस्सीबिनै उत्रेको अर्जेन्टिनाले खेलको ९० मिनेटसम्म सुपरस्टार खेलाडीले भरिएको ब्राजिललाई कडा टक्कर दिएको थियो । उसले ९० मिनेटसम्म ब्राजिललाई गोल गर्न दिएन ।

तर, खेलको ९० मिनेटपछि थपिएको केही समय सम्हालिन नसक्दा अर्जेन्टिनाले गोल खायो । ९३औं मिनेटमा नेइमारले हानेको कर्नर किकमा मिरान्डाले टाउकोले हानेर गोल गर्दै ब्राजिललाई १–० को जित दिलाए ।