म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेका छन् ।
युनाईटेडले मंगलबार राति एक विज्ञप्ति निकाल्दै रोनाल्डोले तत्कालबाट लागु हुने गरि क्लब छाडेको जनाएको छ ।
आपसी सहमतिमा सम्झौता रद्द गर्दै क्लब छाडेको युनाईटेडले जनाएको छ ।
रोनाल्डोले पनि एक विज्ञप्ति निकाल्दै सहमतिमा क्लब छाडेको बताएका छन् । उनले आफु युनाईटेड र क्लबका समर्थकलाई माया गर्ने बताउँदै सफलताको लागि शुभकामना समेत दिएका छन् ।
पोर्चुगिज कप्तान रोनाल्डोले सम्झौता नसकिदै क्लब छाडेका हुन् । ३७ वर्षीय रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए ।
तर, पछिल्लो समय मुख्य प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्धको कारण उनी विवादमा तानिएका थिए ।
एक टेलिभिजन अन्तर्वार्तामा रोनाल्डोले आफूलाई क्लबले धोका दिएको र म्यानेजर एरिकप्रति आफूलाई कुनै सम्मान नभएको बताएपछि उनी विवादमा तानिएका थिए ।