अन्ततः बेन्जिमाले मागे भिनीसियससँग माफी

बेन्जिमाले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मोन्चेनग्लाडबाकविरुद्ध खेको हाफ टाइममा गरेको व्यवहारलाई लिएर ब्राजिलियन विंगर भिनीसियस जुनिअरसँग माफी मागेका छन् ।

बेन्जिमाले रियलकै फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीसँग भिनीसियसको प्रदर्शनबारे नकारात्मक टिप्पणी दिँदै उनलाई बल पास नदिन भनेका थिए । भिनीसियस स्वयं त्यहीं उपस्थित रहेपनि दुई खेलाडी फ्रेन्चमा बोलिरहेका कारण उनले बुझेका थिएनन् । तर दुईको वार्तालाप मिडियाले पाएपछि यस घटनाको चर्को आलोचना भएको थियो । बेन्जेमाले बल पास नदिन र भिनीसियस विपक्षी टोलीका लागि खेलिरहेको जस्तो व्यवहार गरेको आरोप लगाएका थिए ।

मंगलबारको खेलपछि रियलले बुधबार खेलाडीलाई छुट्टि दिएको थियो । बिहीबार भने प्रशिक्षणको सुरुवातमा नै बेन्जेमाले भिनीसियसलाई भेटेर माफी मागेका छन् । भिनीसियसले बेन्जेमाको माफी स्वीकार्दै यस घटनालाई महत्त्व नदिने बताए । दुवै खेलाडीले खेलको क्रममा हुने घटनालाई बढावा दिन नचाहेको बुझिएको छ ।

बेन्जेमा र भिनीसियसको सम्बन्ध मैदानभित्र मात्र नभएर बाहिर पनि राम्रो रहेको छ । पछिल्लो समय रियलको आक्रमणमा तालमेल मिलिरहेका यी दुईबीचको मनमुटाव जिदानको टाउको दुखाइ बन्ने आंकलन थियो । तर दुवै खेलाडीले अवस्था बुझेपछि समस्या टरेको छ ।