अन्ततः बार्सिलोनाको जित

बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो ।

नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि हार टार्न सकेन ।

पछिल्लो पाँच खेलमा बार्सिलोनाको यो पहिलो जित हो । यसअघि २८ नोभेम्वरमा भिल्लारियललाई ३–१ ले पराजित गरेयता बार्सिलोनाले चार खेलमा जित निकाल्न सकेको थिएन । त्यसक्रमा बार्सिलोनाले समान दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो ।

खेलको १६औं मिनेटमा औसमाने डेम्वेलेको पासमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १९औं मिनेटमा पाब्लो गाभिराले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६२औं मिनेटमा टेटे मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि ६३औं मिनेटमा पेरे मिल्लाले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १५ अंकले पछि छ । पराजित इल्चे १५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।