अन्ततः नेइमारलाई स्पेन फर्काउँदै बार्सिलोना

बार्सिलोनाले आफ्ना पूर्वस्टार नेइमारलाई पुनः स्पेन फर्काउन चाहेको चर्चा बढेको छ । अन्तर्राष्ट्रिय मिडियामा यससम्बन्धी विभिन्न रिपोर्ट बाहिरिएका छन् ।

रिपोर्टअनुसार बार्सिलोनाले २ वर्षअघि क्लब छाडेर गएका ब्राजिलियन नेइमारलाई क्याम्प नोउ फर्काउन आन्तरिक कसरत थालेको हो । केही दिनअघि मात्रै बार्सिलोनाका खेल निर्देशक पेप सेगुराले एक अन्तर्वार्तामा ‘नेइमारका लागि बार्सिलोनाको ढोका पूर्ण रूपमा बन्द नभएको’ बताएका थिए ।

त्यसपछि बार्सिलोनाका प्रतिनिधिले नेइमार र उनका एजेन्टसँग उनको सम्भावित स्पेन फिर्तीबारे गोप्य कुराकानी गरेको स्पेनिस मिडियामा खबर प्रकाशित छन् । खबरअनुसार बार्सिलोना नेइमारलाई फर्काउन र नेइमार स्पेन फर्किन खुला देखिएका छन् ।

सन् २०१७ मा विश्वकीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिालेना छाडेर पिएसजी गएका नेइमार पेरिसमा खुसी हुन नसकेको र केही टिममेटसँग सम्बन्ध सुमधुर बन्न नसक्दा निराश रहेको बताइन्छ ।

त्यत्ति मात्रै हैन, नेइमारले पिएसजीमा रहेर च्याम्पियन्स लिग तथा बालोन डि‘ओरजस्ता ठूला अवार्ड जित्ने सम्भावना कमजोर देखेकाले पछिल्लो समय उनी पनि पिएसजी छाड्ने मनस्थितिमा पुगेको बताइन्छ । नेइमारले पनि बार्सिलोना फर्किने संकेत देखाएपछि बार्सिलोनाले उनका लागि चासो देखाएको हो ।

केही समयअघि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नेइमालाई फर्काउने विषयमा क्लबका प्रमुख जोसेप मारिया बार्टोमेउ तथा खेल निर्देशक सेगुरासँग छलफल गरेका थिए ।
त्यसपछि बार्सिलोनाका केही खेलाडी नेइमारसँग सम्पर्कमा रहेको र नेइमारले पनि बार्सिलोना फर्किन सक्ने बताएपछि क्लबले त्यसका लागि आवश्यक कसरत थालेको स्पेनका अधिकांश मिडियाले जनाएका छन् ।

नेइमारले चाहे बार्सिलोनाले उनलाई आगामी समर सिजनसम्ममा क्याम्प नोउ उतार्ने सम्भावना बढेको बताइएको छ ।