अन्जन बिष्टसहित ४ खेलाडीमाथिको प्रतिबन्ध घट्यो

एन्फाले अन्जन बिष्टसहित चार फुटबलरमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।

एन्फाको अनुशासन कमिटिले मंगलबार विमलसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङमाथि गरिएको कारबाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन नाईट क्लबमा बिताएपछि अनुशासन कमिटिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको थियो ।

एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो ।

तर, एन्फाले कारबाहीको अवधि घटाउँदै कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।

कारबाहीको अवधि धेरै भएको भन्दै खेलाडी तथा खेलाडी आवद्व सम्बन्धित क्लबले एन्फामा अपिल गरेपछि कमिटिले अर्काको निर्णय गरेको हो ।

एन्फाले चारै खेलाडीमाथि गरिएको ५० हजार रुपैयाँ जरिवाना भने यथावत रहने जनाएको छ ।

नाईट क्लबमा गएको पुष्टि भएपछि एन्फाले चार खेलाडीलाई तत्काल निलम्बन गरेको थियो । जसको कारण उनीहरुले नेपालमा भएको १३ औं साग खेलकुद समेत गुमाएका थिए । नेपालले साग फुटबलमा स्वर्ण समेत जितेको थियो ।

चारै खेलाडीले ‘ए’ डिभिजन लिग समेत गुमाएका छन् ।