अडिटोरियम हलको उद्घाटन, २ सय जना अटाउने क्षमता

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र निर्मित अडिटोरियम हलको सोमबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे ।

आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ । १३ औं सागको तयारी तथा आठौं राष्ट्रियको समिक्षात्मक छलफल कार्यक्रम उद्घाटनपछि सोही हलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रमपनि आयोजना गरिएको थियो ।

सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा थपेको बताउदै तेक्वान्दोको विवाद समाधानको नजिक रहेको बताए ।

खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले गर्दा आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताउदै राष्ट्रको प्रतिष्ठाका लागि साग निर्धारित समयमै आयोजना हुनु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताउदै अब सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुद प्रति गद्दारी हुने धारणा व्यक्त गर्दै आफूले तर्किने गरी हिड्नु पर्ने कुनै काम नगरेको बताए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए । १३ औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराएका थिए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सदस्य–सचिव विष्टको चार वर्षे कार्यकालमा आधारित रहेर तयार गरिएको ‘यात्रा’ नामक पुस्तकको पनि खेलकुद मन्त्री विश्वकर्माले विमोचन गरेका थिए ।