अग्रता जोगाउन नसक्दा पोर्चुगल जित्न असफल

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

सर्बियाको मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल रोकिएको हो ।

खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।

तर, खेलको ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६० औं मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै सर्बियाले २ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को सर्बिया शीर्ष स्थानमा रहेको छ ।

पोर्चुगल २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा लक्जमवर्गले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले हराएको छ ।