अंक तालिकाकाे पुछारमा रहेकाे पाेखरासँगै धनगढी पनि बाहिरियाे

कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएका छन् ।

पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पार्न सक्याे र अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् ।

चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित ऊ शीर्षस्थानमा छ । पारस खड्का नेतृत्वको चितवनको ध्यान फाइनल खेल्नेमा मात्र छ ।

ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ विजयी भए उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहनेछ । पराजित भयो भने विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ ।

प्रतियोगिताको शीर्षटोलीले उपाधि जित्नका लागि शनिबार खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि बिहीबार इलिमिनेटर खेल खेल्नेछ ।

पोखरा प्रिमियर लिगको उपाधि विजेता टाेलीले रु २७ लाख पुरस्कार पाउनेछ । उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ ।

प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट सहभागी छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउनेछन् ।