प्रिमियर लिगमा चेल्सीको लज्जास्पद हार 

प्रिमियर लिगमा शनिवार न्यूकासल युनाइटेड विरुद्धको अवे खेलमा चेल्सीले ४-१को लज्जास्पद हार बेहोरेको छ।

शनिवार भएको खेलमा न्यूकासलले खेलको १३ औँ मिनेटमा अलेक्जेन्डर इसाकको गोलमा अग्रता लिएको थियो तर खेलको २३ औँ मिनेटमा चेल्सीका रहीम स्टर्लिंगले उत्कृष्ट फ्री किक गोल गर्दै खेल बराबरीमा लगे। पहिलो हाफ १-१को स्कोरमा अन्त्य भएको थियो तर दोस्रो हाफमा चेल्सीले थप तीन गोल खान पुगेको थियो।

खेलको ६० औँ मिनेटमा न्यूकासलका जामालले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएका थिए भने उक्त गोलको १ मिनेट पछि नै जोलिन्टन गोल गर्दै न्यूकासलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा दुई गोल खाए पछि चेल्सी खेलमा फर्किन सकेन भने चेल्सीका कप्तान र डिफेन्डर रिस जेम्सले खेलको ७३ औँ मिनेटमा रातो कार्ड पाए पछि चेल्सी १० खेलाडीमा सीमित हुन पुग्यो।

खेलको ८३ औं मिनेटमा न्यूकासलका युवा स्टार एन्थोनी गोर्डनले गोल गर्दै स्कोर ४-१मा लगे पछि चेल्सीले यस सिजन लिगमा आफ्नो पाँचौँ हारको सामना गरेको हो।

सो हार पछि हाल चेल्सी लिगको दसौँ स्थानमा रहेको छ। यस सिजन चेल्सीले १३ खेलमा ४ जित ४ बराबरी र ५ हारको सामना गरेको छ जसको मतलब हाल सम्म यस सिजन चेल्सीको जित भन्दा हार बढी रहेको छ- न्यूकासल भने २३ अंकको साथ लिगको छैटौँ स्थानमा पुगेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ