४० वर्षिय इब्राहिमोभिच चम्कदा मिलानको रोमामाथी जित

सिरी ‘ए’ मा एसी मिलानले रोमालाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको मिलानले घरेलु टोली रोमामाथि २–१ को जित हात पारेको हो ।

रोमामा आइतबार राति भएको खेलमा मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र फ्रान्क केस्सीले गोल गरे । घरेलु टोलीका स्टेफन अल सरावेले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको गोलबाट मिलानले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५०औं मिनेटमा ज्लाटनले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन । ५७औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

मिलान ६६औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । थियो हर्नान्डेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसबेलासम्म मिलानले २–० को अग्रता लिइसकेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफन अल सरावेले गोल गरेपनि घरेलु टोलीको हार टार्न सकेन ।

जितपछि मिलान ११ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ३१ अंक नै रहेपनि नेपोली शीर्षस्थानमा रहेको छ । पराजित रोमा १९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।