आसन सुकुलमा अगाडि सालको पातको लपेस, त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार, छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा, यी परम्परागत नेवारी भोजका परिकार हुन् ।
नेवारी भोजमा प्रयोग गरिने सलिचा लोप हुँदै गएको छ । सलिचा दही, जाँड, रक्सी, पाऊँ आदि हालेर खाने सानो माटाको भाँडो हो । यसको सट्टा प्लास्टिकको कप प्रयोग हुन थालेको छ ।
भक्तपुरका सरोज लबजु भन्छन्, ‘सलिचामा दही खाँदा मिठो स्वाद फरक हुन्थ्यो। प्लास्टिकका गिलासमा त्यो स्वाद कहाँ पाउनु ?’ ६–७ वर्षअघि भोजमा ‘सलिचा’ अनिवार्य मानिन्थ्यो । सलिचा माटोको भाँडो हो ।
हुन त सुकुल भोजलाई पार्टी प्यालेसले विस्थापित गरिसकेको छ । बिहे, व्रतबन्ध र पास्नी जस्ता कार्यमा पार्टी प्यालेसमै भोज हुन थालेको छ । घरमै हुने सानातिना भोज र देवालीमा भने सुकुल भोज हुन्छ ।
के भन्छन् व्यवसायी?
भक्तपुर च्यामासिहंकी कृष्णश्वरी प्रजापति (६२) को पुर्ख्यौली पेसा सलिचा बनाउनु हो । उनका अनुसार सलिचाको माग घटेको छ । त्यसैले बनाउनेको कमी आएको उनी बताउँछिन् । यसप्रति नयाँ पुस्ताले चासो दिन छाडेको उनको अनुभव छ । उनी भन्छिन्, ‘छोराहरूले गर्दैनन्, हामी बूढाबूढी मिलेर बनाउँछौँ । अब त बूढो पनि भइयो, धेरै काम गर्नै सकिँदैन ।’
सलिचाको माग पनि घटेको छ। मागअनुसार आपूर्ति गर्न नसकेको उनी बताउँछिन् । यसको माग जात्रा, भोज, दसैँतिहारमा मात्र हुने गर्छ । पहिलेपहिले जाँडरक्सी सलिचामा हालेर खाइन्थ्यो। माटोको भाँडामा खाँदा स्वादिलो हुन्छ । यस्तै माटोले खानामा भएका विकार हटाउने जनविश्वास छ ।
संस्कृतविद् तेजेश्वर बाबु ग्वँगका अनुसार माटोसँगको मानव सभ्यता जोडिएको छ । उनले भने, ‘भोजमा सलिचाको प्रयोग हाम्रो परम्परा हो । अझै पनि सलिचाको प्रयोग गरिएको पाइन्छ, तर घट्दै गएको छ ।’
माटोको समस्या
अचेल माटो पाइने ठाउँमा बस्ती विस्तार भएका छन् । त्यसैले भाँडा बनाउन माटो पाइन छाडेको छ । पहिलेपहिले भाँडा बनाउने माटो जहाँ पनि पाइन्थ्यो । अहिले अन्यत्रबाट मगाउनुपर्छ । यस्तै माटोको भाँडा बनेपछि पोल्नका लागि दाउराको पनि अभाव छ ।
‘माटो नै पाउन छाडेको छ । त्यसैले हामीलाई नै गाह्रो भएको छ’, व्यवसायी विनोद प्रजापति भन्छन् । उनका अनुसार उपत्यकाबाहिरबाट पनि माटो ल्याउनुपर्ने हुन्छ ।
आर्थिक भार
एउटा सलिचाको मूल्य ५ रुपैयाँ पर्छ । ५० देखि ६० वटा प्लास्टिकका गिलासको करिब एक सयदेखि एक सय पचाससम्म पाइन्छ । त्यही ५० देखि ६० वटा सलिचाको पाँच सय पर्न जान्छ । यसैले पनि मानिस सस्तो रोज्न थालेका छन् ।
नयाँ प्रविधि आउनु स्वाभाविकै रहे पनि मौलिकता गुमाउन नहुने सुझाव ग्वँगको छ । उनले भने, ‘यसका लागि आफ्नै प्रविधि, संस्कार र परम्परा र स्थानीय स्रोतसाधनको ज्ञान दिने पाठ्यक्रम बनाउनुपर्छ ।’ यसो नगरे संस्कृति नै हराएर जाने उनले बताए । सलिचालाई समयअनुसार परिमार्जन गरी प्रयोग गर्नुपर्ने उनले बताए । उनले भने, ‘समाज परिवर्तनशील छ तर परम्परा हराएर जानु राम्रो होइन ।’
यस्ता परम्परागत विषयमा विद्यालय स्तरबाटै सिकाउने हो भने जगेर्ना हुन सक्ने उनको भनाइ छ । अन्यथा आगामी पुस्ताले ‘सलिचा’ बारे केही थाहै नपाउने उनले बताए ।