सातौँ डिभिजनको क्लबले हालान्डको लागि म्यान सिटीलाई प्रस्ताव पठाए पछि 

म्यानचेस्टर सिटीले आफ्नो युवा स्टार अर्लिङ हालान्डको लागि २८-दिनको लोन प्रस्ताव प्राप्त गरेको छ। इंगलिस फुटबलको सातौँ डिभिजनको क्लब एस्टन युनाइटेडले हालान्डलाई लोनमा साइन गर्ने प्रस्ताव पठाएको जानकारी छ।

२२ वर्षीय स्टार बोरुसिया डर्टमन्डबाट सिटीमा आएका थिए भने प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको सिटीको लागि हालान्डले हाल सम्म २३ गोल गरिसकेका छन् र अब विश्वकपले गरेर प्रिमियर लिग रोकिने भएको कारण सातौँ डिभिजनको क्लबले हालान्डलाई २८ दिनको लोन भित्राउने प्रस्ताव गरेको छ।

नर्वे विश्वकपमा छनोट हुन असफल भएको कारण हालान्ड एक महिना सम्म खेल विहीन हुने भएको कारण एस्टन युनाइटेडले उनलाई साइन गर्ने योजना बनाएको एस्टन युनाइटेडले जनाएको छ।

एस्टन युनाइटेडका प्रबन्धक माइकल क्लेगले भने: “यो प्रस्तावले राम्रो अर्थ राख्छ। सिटीले अब विश्वकपको कारण खेल्ने छैन, र हामी हालान्डलाइ खेल समय दिएर फिट राख्न मद्दत गर्न चाहन्छौँ, यो छ हप्तासम्म गल्फ खेल्नु भन्दा बढी अर्थपूर्ण छ।

“हामी सोच्दछौं कि उहाँ हाम्रो लागि उत्कृष्ट हुनुहुनेछ, र हाम्रो टोलीसँग साँच्चै राम्रो गतिशील हुनेछ।”

नर्दन प्रिमियर लिग प्रिमियर डिभिजनमा खेल्ने एस्टन युनाइटेडले यस सिजन मात्र २३ गोल गरेको छ र तालिकामा ११ औँ स्थानमा रहेको छ।

सिटीले एस्टन युनाइटेडको प्रस्तावको जवाफ भने दिएको छैन र पक्कै पनि सिटीले आफ्नो स्टारलाई लोनमा पठाउने छैनन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ