१६ वर्षीय नेपाली खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियरतर्फ विश्व वरीयतामा शीर्ष १० मा पुगेका छन् । मंगलबार सार्वजनिक नयाँ वरीयतामा प्रिन्सले १ स्थानमा सुधार गरी विश्वकै उत्कृष्ट १० खेलाडीमा सूचीकृत भएका हुन् ।
दुई जुनियर सिरिजका लागि हाल युरोपमा रहेका प्रिन्सले यसै साता डच जुनियर इन्टरनेसनल सिरिजमा प्रिक्वाटरफाइनलसम्म पुगेका थिए । अहिले उनी जर्मन जुनियर इन्टरनेसनल सिरिजको तयारीमा छन् । प्रतियोगिता बर्लिनमा बुधबार सुरु हुँदै छ ।
प्रिन्सले जर्मनीबाट कान्तिपुरसँगको कुराकानीमा महत्त्वपूर्ण कोसेढुंगा पार गर्न सकेकोमा खुसी व्यक्त गरे । तर उनलाई यो पनि थाहा छ कि आगामी हरेक प्रतियोगिताहरू उनका लागि त्यत्तिकै महत्त्वपूर्ण हुनेछन्, किनभने विश्व ब्याडमिन्टन फेडेरेसनले हरेक साता वरीयता निकाल्ने गर्छ ।
‘अहिलेसम्म राम्रो गरिरहेको छु र छोटो समयमै शीर्ष १० मा समावेश हुन सफल भएको छु,’ प्रिन्सले भने, ‘मेरो लक्ष्य यो वर्ष (सन् २०२०) भित्र शीर्ष पाँच भित्र पर्नु हो । तर मलाई गाह्रो हुन थालेको छ । साग गेम्सपछि मैले प्रशिक्षण पाएको छैन । राम्रो प्रशिक्षण पाएँ भने नतिजा राम्रो आउँथ्यो ।’
मंसिर १५ देखि २४ सम्म नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्पर्धा (टिम र पुरुष युगल) मा कांस्य जितेका उनले त्यसयता आधिकारिक तीन प्रतियोगिता खेलेका छन् ।
नेपाल ब्याडमिन्टन संघले पनि प्रिन्सको सफलतामा खुसी व्यक्त गर्दै उनको आगामी दिनहरू सहज बनाउन संघले पहल गर्ने जनाएको छ । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले भने, ‘प्रिन्सको करिअर अझै उचाइमा पुर्याउन संघ जस्तोसुकै समस्याको सामना गर्न तयार छ । उनीलगायत राष्ट्रिय टोलीका खेलाडीका लागि अर्को साता दक्षिण कोरियाबाट प्रशिक्षक आउँदैछन् । उनले एक वर्षसम्म नेपाली टिम हेर्नेछन् ।’
कोरियाली ओलम्पिक कमिटीको सहयोगमा कोरियाली ब्याडमिन्टन संघले नेपाललाई एकजना स्तरीय प्रशिक्षक पठाउन सहमति गरेको छ । त्यसअनुसार मार्च १० (फागुन २७) सम्म ती प्रशिक्षक नेपाल आउने अध्यक्ष श्रेष्ठले बताए ।
विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण प्रशिक्षकको आगमन समय धकेलिन सक्ने सम्भावनालाई भने अध्यक्ष श्रेष्ठले नकार्न सकेनन् । सन् २०१८ मा भएको दुबई जुनियर इन्टरनेसनल सिरिजमा यू–१५ विधामा स्वर्ण जितेपछि चर्चामा आएका प्रिन्स सन् २०१९ को मे महिनादेखि जुनियर विश्व वरीयतामा समावेश भएका हुन् । सन् २०१९ को दुबई जुनियर इन्टरनेसनल सिरिजमा तत्कालीन दोस्रो वरीयताका भारतीय खेलाडी वरुण कपुरलाई पराजित गरेपछि उनी वरीयतामा फड्को मार्दै १०३ स्थानबाट ५४ औं स्थानमा आए ।
त्यसयता उनको वरीयता उकालो लागिरहेको छ ।
वरीयतामा समावेश भएयताको आधिकारिक १० प्रतियोगितामा उनले एकलतर्फ २५ खेल खेलेका छन् । त्यसमध्ये १६ खेल जितेका छन् भने ९ खेलमा हार भोगेका छन् ।
९ हजार ८ सय ६० अंकसहित उनी मंगलबार सार्वजनिक पछिल्लो वरीयतामा दसौं स्थानमा पुगेका हुन् । १० मध्ये पहिलो चरणबाटै बाहिरिएको तीन प्रतियोगिताको नतिजा वरीयतामा जोडिएको छैन ।
@Kantipur