विश्व कप : फाइनल पुग्न फ्रान्सलाई मोरक्कोको चुनौती

ढोहा । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा आज हुने सेमिफाइनलमा मोरक्कोले गत संस्करण विजेता फ्रान्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल आज राति १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ ।क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ तथा मोरक्कोले पोर्चुगललाई १–० ले पाखा हराए ।

उच्च लयमा रहेका यी दुई टिमबीचको सेमिफाइनल खेल रोमाञ्चक हुने आँकलन गरिएको छ । जारी विश्वकपमा मोरक्कोले एक खेलमा पनि हार बेहोरेको छैन । उसले प्रतियोगितामा एक गोल मात्र खाएको छ, त्यो पनि आत्मघाती ।

जारी विश्वकपमा मोरक्काले पोर्चुगल, बेल्जियम, क्यानडा र स्पेनलाई हराइसकेको छ । समूह चरणमा मोरक्कोले क्रोएसियासँग भने गोलरहित बराबरी खेल्यो । फ्रान्सको कुरा गर्दा जारी संस्करणमा उसले समूह चरणमा अस्ट्रेलिया र डेनमार्कलाई हराउँदा ट्युनिसियाविरुद्ध १–० को हार बेहोर्‍यो ।

त्यस्तै, फ्रान्सले नकआउट चरण खेलमा पोल्याण्डलाई ३–१ ले तथा क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पाखा लगायो ।