विश्व कप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाको प्रतिस्पर्धा

ढोहा । कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि गत संस्करण उपविजेता क्रोएसिया र मोरक्को खेल्दै छन् । यी दुई टोलीबीचको खेल आज राति ८ः४५ देखि सुरु हुँदैछ । क्रोएसिया र मोरक्को तेस्रो बन्दै घर फर्किने योजनाा छन् ।

सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनाविरुद्ध ३–० पराजित भएको थियो । अफ्रिकन टोली मोरक्को सेमिफाइनलमा गत विजेता फ्रान्ससँग २–० पराजित भयो । हालसम्म मोरक्को र क्रोएसियाले एकअर्काविरुद्ध २ अन्तर्राष्ट्रिय म्याच मात्र खेलेका छन् । जसमा एक खेलमा क्रोएसिया विजयी हुँदा एक खेल गोलरहित बराबरीमा सकिएको छ ।

क्रोएसिया र मोरक्कोले पहिलोपटक सन् १९९६ मा खेलेका थिए । सो खेलमा मोरक्कोविरुद्ध क्रोएसिया पेनाल्टी सुटआउटमा विजयी भएको थियो । त्यस्तै, यी दुई टिमले दोस्रो खेल जारी विश्वकपको समूह चरणमा खेले । २३ डिसेम्बरमा भएको खेल गोलरहित बराबरीमा सकियो ।

शनिबार दुवै टिम विश्वकपको दोस्रो भेटमा जित निकाल्दै इतिहास रच्न चाहन्छन् । सेमिफाइनल पुग्दासम्म मोरक्को अपराजित रहेको थियो । उसले समूह चरणमा क्रोएसियाविरुद्ध बराबरी खेल्दा बेल्जियम र क्यानडालाई हरायो । नकआउट चरणमा पूर्वविजेता स्पेनलाई पेनाल्टीमा हराएर मोरक्कोले क्वार्टरफाइनलको यात्रा तय गर्‍यो ।

क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध पार्दै मोरक्कोले पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको थियो । यता क्रोएसियाले समूह चरणमा तीनमध्ये दुईमा बराबरी र एक खेलमा जित निकालेको थियो । उसले राउन्ड अफ १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो ।