विश्वकप चम्किरहेका स्टार खेलाडी साइन गर्न म्यानचेस्टर युनाइटेड इच्छुक 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हाल विश्वकप चम्किरहेका नेदरल्याण्ड्सका विंगर कोडी गाक्पोलाई साइन गर्न इच्छुक रहेको रिपोर्ट छ।

हाल पिएसभीको लागि खेल्दै गरेका २३ वर्षीय कोडी गाक्पोले नेदरल्याण्ड्सका लागि यस विश्वकपमा दुई खेलमा दुई गोल गरेका छन् भने उनी राष्ट्रिय टिम र आफ्नो क्लबको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्।

रिपोर्ट अनुसार उनलाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड धेरै इच्छुक रहेको छ र विश्वकप पछि युनाइटेडले उनको लागि प्रस्ताव पनि पठाउने योजना बनाएको जानकारी छ।

विश्वकप अगाडी देखि नै युनाइटेडको नजर उनी माथि रहेको थियो तर विश्वकपमा उनको प्रदर्शनको कारण अन्य क्लबहरूको नजर पनि उनी माथि पर्न सक्ने भएकोले युनाइटेडले आफ्नो प्रयास तीव्र बनाउने खबर छ।

पिएसभीको एकेडेमीको उत्पादन रहेका कोडी गाक्पो २०१८मा सिनियर टिममा बढुवा भएका थिए भने हाल सम्म उनले १५९ खेल खेल्दै पिएसभीको लागि ५५ गोल र ५० असिस्ट गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ