लेजेन्ड पेलेलाई उछिन्दै भारतका सुनिल छेत्री अगाडि

भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा महान खेलाडी पेलेलाई उछिनेका छन् ।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टिम माल्दिभ्सविरुद्ध दुई गोलसँगै सुनिलले पेलेको गोल संख्यालाई उछिनेका हुन् ।

माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ गोल पूरा गरे । र, पेलेको ७७ गोललाई उछिनेका हुन् ।

३७ वर्षीय सुनिलले १ सय २३ खेलमा ७९ गोल गरेका हुन् । ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए ।

कप्तान सुनिल सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने हाल सक्रिय फुटबल खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् ।

सुनिल अघि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी रहेका छन् ।

रोनाल्डोले १ सय १५ गोल गरेका छन् । यस्तै मेस्सीले ८० गोल गरेका छन् ।

कप्तान सुनिलले दुई गोल गरेसँगै भारतले माल्दिभ्सलाई ३-१ ले हराएर फाइनल पुगेको छ ।

भारतले साफको उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको फाइनल खेल आइतबार हुनेछ ।