लिभरपुलको फराकिलो जित

इङ्लिस क्लब लिभरपुलले युरोपा लिगमा लगातार तेस्रो जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले फ्रेन्च कप विजेता टोउलोउसलाई ५–१ ले हराएको हो ।

लगातार तेस्रो जितपछि समूह ‘इ’ मा लिभरपुल ९ अंकसहित शीर्षस्थानमा छ । पराजित फ्रेन्च टोली चार अंकसहित तेस्रो स्थानमा छ ।

घरेलु मैदानमा आक्रामण फुटबल खेलेको लिभपुलले पहिलो हाफमै तीन गोल गर्दै सहज जिततर्फ अग्रसर भएको थियो । लिभरपुलले दुई खेलाडीलाई डेब्यु पनि गरायो ।

लिभरपुलको जितमा डिअगो जोटा, वातरु इन्दो, डार्विन नुनेज, रायन ग्राभनबेर्च र मोहम्मद सलाहले समान एक गोल गरेका थिए ।

नवौं मिनेटमै डिअगो जोटाले जोइ गोमेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । भ्रमणकारी टोलीका तिस डालिङ्गाले गोल गर्दै १६ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

तर , वातरुले ३० औं दोस्रो गोल गरे । ३४ औं मिनेटमा नुनेजले गोल गरेपनि पहिलो हाफमा लिभरपुल ३–१ ले अगाडी रह्यो ।

६५औं मिनेटमा रायनले गोल गर्दै ४–१ को अग्रता बनाएका हुन् । कोडी गाक्पोले मिलाएको पासलाई सदुपयोग गर्दै सलाहले इन्जुरी समयमा गोल गरेका हुन् ।