कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरण टुंगिएको छ । बुधबार र बिहिबार विश्राम छ र शुक्रबार देखि सातौं चरण सुरु हुनेछ । यस चरणको समाप्तीमा हामीले एक प्रकारले लिगको मध्यक्रमको विजेता पाउने छौं ।
सातौं चरणको सबैभन्दा ठूलो आकर्षण रहेको छ, मनाङ मस्र्याङ्दीविरुद्ध थ्री स्टारबीचको खेल । घरेलु नेपाली फुटबलका यी दुई ठूला शक्ति हुन् ।
संयोगले दुवै टिम राम्रो लयबाट गुज्रिरहेका छैनन् । मनाङ १२ अंकमा तेस्रो स्थानमा छ भने थ्री स्टार त्यसको मुनि चौथोमा छ, १० अंकसहित । छैटौं चरणको समाप्तीमा १३ अंक सहित मछिन्द्र शीर्ष स्थानमा छ । उसको ठीक पछाडि समान १३ अंक सहित आर्मी रहेको छ । आर्मीको तुलनामा मछिन्द्रलाई गोल अन्तरको फाइदा छ । संकटाविरुद्धको बराबरी आर्मीका लागि महँगो सावित हुन सक्नेछ ।
सातौं चरणमा मछिन्द्रले हिमालयन शेर्पाको सामना गर्नेछ । यस्तै आर्मीले भने च्यासलविरुद्ध मैदानमा उत्रनेछ । छैटौं चरणको समाप्तीमा सबैभन्दा ठूलो प्रश्न रह्यो, लिगमा गोल कता हरायो त ?
यो चरणमा ६ खेलमा मात्र पाँच गोल भए । तीन खेल त गोलरहित बराबरीमै टुंगिए । दुई खेलको स्कोर १–० मा रह्यो । एक खेलमा मात्र दुई गोल भयो (आर्मी र संकटा) ।
यो त औसत ०.८३ को गोल मात्र रह्यो । नेपाली फुटबलका लागि यो निकै चिन्ताको विषय रहनेछ, आखिर किन गोल हुन सकिरहेको छैन् । कहाँ फरवार्डका खेलाडी चुकिरहेका छन् रु यसपल्टको लिगमा ४२ खेल सकिंदा ७५ गोल मात्र भएका छन् र यस सिजन अहिलेसम्म औसत प्रति खेलमा मात्र १.७८ गोल भएको छ ।