रोमान्चक खेलमा रोनाल्डोले जोगायो युभेन्ट्सलाई

युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँगको हारबाट जोगिएको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । २२औं मिनेटमा डेभिड कालाब्रियाको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाए । २९हमैं मिनेटमा एन्टी रेविकको प्रहारलाई बुफोनले बचाए ।

३६औं मिनेटमा जुवान कोर्डाडोको प्रहारलाई मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाएपछि युभेन्टस अग्रता लिनबाट चुक्यो ।

५९औं मिनेटमा एन्टी रेविकको पासमा ज्लाटन इभ्राहिमोभिचको प्रहारलाई बुफोनले सहजै बचाए । ६१औं मिनेटमा एन्टी रेविकको गोल गर्दै मिलानलाई अग्रता दिलाए । स्यामुइल क्यास्टिलेजोको क्रस पासमा रेविकको भली प्रहार गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो । थियो हर्नान्डेजले पाउलो डिब्यालालाई फल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए । मिलान १० खेलाडीमा समेटिएपछि युभेन्टसले खेलमा पकड बनाउदै एक गोल गर्न सफल भयो ।

८४औं मिनेटमा डिब्यालाले खेललाई बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो । ८८औं मिनेटमा रोनाल्डोको ओभर हेड किकमा डेभिड कालाब्रियाले ह्यान्ड गरेको भन्दै युभेन्टसले पेनाल्टीको अपिल गर्यो ।

रोनाल्डोको प्रहारमा डेभिडको आर्ममा लागेपनि उनले बलतिर हेरेको थिएनन् । तर, रेफ्रीको भिएआरको सहायता लिदै युभेन्टसलाई विवादास्पद पेनाल्टी दिए । त्यही विवादास्पद पेनाल्टीमा रोनाल्डो चुकेनन् । र युभेन्टसलाई हारबाट जोगाए ।
सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा ५ मार्चमा हुनेछ ।