रेजिनको कप्तानीमा एफसी खुमलटार

शहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले यस सिजन नेपालको शीर्ष डिभिजन लिगमा डेब्यु गर्ने छन् ।

एफसी खुमलटार गत सिजन ‘बि’ डिभिजन लिगबाट रोमान्चक शैलीमा दोस्रो स्थान हासिल गर्दै ‘ए’ डिभिजनमा उक्लन सफल भएको थियो ।

पहिलो सिजनमै लिगमा छाप छोड्ने तरखरमा रहेको एफसी खुमलटार, लिगमा डेब्यु गर्न तयार देखिन्छन् ।

झन्डै दुई महिना देखि नै प्रशिक्षण गर्दै आएको यस क्लबको कप्तानी फर्वार्ड रेजिन सुब्बाले गर्नेछन् । रेजिनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट खेल्दै लिग उपाधी जितेको थियो । उनले साउथ एसियन गेम्समा फुटबलबाट स्वर्ण पदक पनि जितेका थिए ।

रेजिनका दुई भाईहरु रोहित र रोहनले पनि खुमलटारबाट खेल्नेछन् । साथै, उनीहरुका बुवा मदन सुब्बाले क्लबको असिस्टेन्ट कोचको भुमिका सम्हाल्नेछन । मुख्य प्रशिक्षकमा, भर्खरै सम्पन्न महिला यु-२० साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई पुर्याउन सफल भएको प्रशिक्षक, यम गुरुङ हुनेछन् ।

युवाहरुले भरिएको एफसी खुमलटारले केहि चिर परिचित अफ्रिकन खेलाडीहरु पनि भित्र्याएको छ । पछिल्लो सिजन एनआरटिबाट खेलेका दुई स्टार अट्याकिङ खेलाडी मेस्सुके र स्टेफेन बिनोङले यस सिजन एफसी खुमलटारबाट खेल्नेछन् । त्यस्तै, घानाका खेलाडी अपोह थियोफिलुसले पनि एफसी खुमलटारसंग यस सिजनका लागि सम्झौता गरेका छन् ।

क्लबको उपकप्तान २१ वर्षिय मिड्फिल्डर जय गुरुङ हुनेछन् ।

बुधबार क्लबले धापाखेल स्थित सिजन फोर रेस्टुरेन्टमा आफ्नो नयाँ जर्सी सार्वजनिक गर्दै अन्य खेलकुद सामग्रीहरु पनि वितरण गरेका थिए ।

एफसी खुमलटारले शुक्रबार लिगको सुरुवाती खेल फ्रेन्ड्स क्लबविरुद्ध दशरथ रंगशालामा साझ ५:३० बजे खेल्नेछन् ।