ला लिगामा रियल मड्रिडले नबौं जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले ग्रानाडालाई ४-१ गोल अन्तरले हरायो । जितसँगै रियल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
ग्रानाडाको मैदानमा भएको खेलमा रियलको जितमा मार्को एसेन्सियो, नाचो, भिसिनियर जुनियरले एक एक गोल गरे । ग्रानाडाका लागि एकमात्र गोल लुइस जाभियर स्वारेजले गरे ।
खेलको १९ औं मिनेटमा एसेन्सियोको गोलमा रियलले अग्रता बनाएको थियो । २५ औं मिनेटमा नाचोले गोल गर्दै टिमका अन्तर दुई शुन्यमा पुर्याए । दुबै गोल टोनी क्रुसको पासमा भएको थियो ।
३४ औं मिनेटमा स्वारेजले गोल गर्दै अन्तर दुई एकमा पुर्याएका थिए । पहिलो हाफमा एक गोलले अगाडी रहेको रियलले ५६ औं मिनेटमा तेस्रो गोल थप्यो । उसका लागि भिसिनियस जुनियरले गोल गरे ।
६७ औं मिनेटमा ग्रानाडा १० खेलाडीमा झर्यो । उसका खेलाडी मोन्चु रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसको फाइदा उठाउँदै रियलले ७६ औं मिनेटमा चौथो गोल गर्यो । उसका लागि मेन्डीले गोल गर्न सफल भए । उनले कासेमेरोको पासको सदुपयोग गरेका थिए ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले तीन अंक हासिल गर्यो । यो जितसँगै रियल ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । उसको १३ खेलमा ३० अंक भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका सेभिया र रियल सोसिडाडको समान २८ अंक छ ।