रियलको ६ उपाधी जित्ने लक्ष्य

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटिले ६ उपाधी जित्ने लक्ष्य राखेका छन् । २०२३ को जनवरी र फेब्रुअरीमा रियलले कोपा डेल रे, स्पेनिस सुपर कप, क्लब विश्व कप र च्याम्पियन्स लिग खेल्दैछ ।

रियलले उपलब्ध सबै प्रतियोगिता खेल्ने निश्चित छ । प्रशिक्षक एन्सिलोटिले पनि सबै प्रतियोगिता जित्नको लागि खेल्ने बताए । गत अगस्तमा युरोपियन सुपर कप जितिसकेको रियल अब पाँच वटा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

जनवरी र फेब्रुअरी क्लबका लागि महत्त्वपूर्ण छ । उसले यी दुई महिनामा अत्याधिक खेल खेल्नु पर्ने हुन्छ ।

घरेलु लिगमा पनि रियल शिर्ष स्थानमा छ । उसले बार्सिलोनासंग अंक बराबरी गर्दै शिर्ष स्थानमा रहेको हो । तर, क्लबको लागि मंगलबार हुने कोपा डेल रे मा केन्द्रित हुन जरुरी छ । उसले प्रतियोगिताको चौंथो चरणमा सिपि क्यासेरिनोसंग खेल्नेछ ।

क्लबको व्यस्तताका बिच साउदिको रियाडमा सुपर कपका लागि प्रस्थान गर्नु पर्ने हुन्छ ।

फेब्रुअरीको सुरुआतमा हुने क्लब विश्व कप अगाडि रियलले एट्लेटिक, भिल्लारियल र ओसासुनासंग लिग खेल खेल्नु पर्ने हुन्छ । क्लब विश्व कपमा रियल सोझै सेमिफाइनल खेल खेल्नेछ । मोरक्कोमा हुने प्रतियोगितामा रियलको मुख्य प्रतिद्वन्द्वी ब्राजिलियन क्लब फ्लेमेगोंलाई मानिएको छ ।

त्यस्तै, फेब्रुअरीको तेस्रो साता देखि च्याम्पियन्स लिगको अन्तिम १६ सुरु हुदैछ । गत सिजनको फाइनल खेल अन्तिम १६ मा दोहोरिने छ । रियलले साविक उपविजेता लिभरपुलसंग भिड्दैछ । पहिलो लेग एन्फिल्डमा हुनेछ । रियललाई च्याम्पियन्स लिगमा यो सिजन त्यति सहज हुने छैन । गत सिजन फाइनल खेल रियलले १-० ले जितेको थियो । रियलका लागि भिनिसियस जुनियरले निर्णायक गोल गरेका थिए ।

यस्तै, एन्सिलोटिका टोलिले हरेक तीन दिनमा एक खेल खेल्नु पर्ने हुन्छ । खेलाडि फिट रहनुका साथै कुनै गम्भीर चोट नबोकाउनु ठूलो चुनौतीपूर्ण हुनेछ । २ महिनामा सम्भावित १७ खेल खेल्नु पर्ने हुन्छ । यधपी, रियलका प्रशिक्षकले यी सबै चुनौतीलाई पछ्याउँदै सामना गर्ने दाबी गरे ।