युभेन्टस युरोपियन प्रतियोगिताहरूबाट प्रतिबन्धित हुन सक्ने

इटालियन क्लब युभेन्टस १ वर्षको लागि युरोपियन प्रतियोगिताहरूबाट प्रतिबन्धित हुन सक्ने भएको छ जसको मतलब अर्को वर्षको युरोपा कन्फेरेन्स लिगमा युभेन्टस खेल्न नपाउने सम्भावना रहेको छ। युभेन्टस आर्थिक अनियमितामा संलग्न भएको पुष्टि भए पछि युरोपेली फुटबल महासङ्घ यूईएफएले युभेन्टस माथि प्रतिबन्ध लगाउन सक्ने ठुलो सम्भावना रहेको रिपोर्ट छ।

युभेन्टसले पुँजीगत लाभको लागि २०१८ देखि २०२० सम्म आफ्नो वित्तीय लेखामा आफूले साइन गरेको र बेचेको खेलाडीको ट्रान्सफर मूल्य बढाएर राखेको थियो सो कारण सिरी एमा पनि युभेन्टसले १५ अंक कटौतीको सजाय पाएको थियो भने अब अर्को वर्ष युरोपियन प्रतियोगिताहरूबाट पनि युभेन्टस प्रतिबन्धित हुन सक्ने रिपोर्ट छ।

सिरी एमा १५ अंक कटौती भए पछि युभेन्टस लिगको सातौँ स्थानमा रहेको थियो जसको कारण युभेन्टस अर्को सिजन युरोपियन प्रतियोगिताहरुको तेस्रो तहको युरोपा कन्फेरेन्स लिगको लागि छनोट भएको थियो तर यूईएफएले युभेन्टस माथि प्रतिबन्ध लगाए युभेले उक्त प्रतियोगिता खेल्न पाउने छैन।

युभेन्टसको बोर्डले €२१६ मिलियनको घाटाको पनि घोषणा नगरेको खुले पछि युभेन्टस माथि आपराधिक अनुसन्धान भएको थियो र सो कुराको पुष्टि भए पछि युभेन्टसले १५ अंक कटौतीको सामना गरेको थियो।

युभेन्टस माथि अनुसन्धान सुरु भए पछि आधिकारिक रूपमा अध्यक्ष एन्ड्रिया एग्नेली, सीईओ मौरिजियो अरिभाबेने, उपाध्यक्ष पावेल नेदभेड र बोर्डका बाँकी सदस्यले राजीनामा दिएका थिए तर पनि उक्त व्यक्तिहरू प्रतिबन्धित भएका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ