मेस्सी सम्मीलित पीएसजीमाथी म्यान्चेस्टर सिटीको जित

म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे ।

पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।

खेलको ५० औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अंक जोडेको छ ।

सिटी शीर्ष स्थानमा रहेको छ । पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नकआउट चरणमा पुग्न पीएसजीलाई अन्तिम खेल कुर्नु पर्ने भएको छ ।