मेस्सी माथि पनि साउदी क्लबको नजर

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरमा अनुबन्ध भएको चर्चाको अन्त्य हुन नपाउँदै रोनाल्डोको लामो समय देखिको प्रतिद्वन्द्वीको रूपमा रहेका लिओनेल मेस्सीलाई पनि साउदी अरेबियाको क्लबले साइन गर्न प्रयास गर्न सक्ने जानकारी छ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सँग रोनाल्डोको सम्झौता रद्द भए पछि फ्री एजेन्ट रहेका रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका थिए भने हाल रिपोर्ट अनुसार अल नासरको चिर प्रतिद्वन्द्वी अल हिलाल लिओनेल मेस्सीलाई भित्राउन इच्छुक रहेको छ।

२०२२ फिफा विश्वकप विजेता मेस्सीको सम्झौता फ्रेन्च क्लब पिएसजी सँग २०२३को जुन सम्म रहेको छ र हाल सम्म मेस्सीले पिएसजी सँग सम्झौता विस्तार नगरे पनि उक्त अवस्थामा साउदी क्लब अल हिलालको निगरानी रहेको जानकारी छ।

रिपोर्ट अनुसार अल हिलाल मेस्सीलाई वार्षिक ३०० मिलियन युरोको तलब दिन तयार रहेको छ जबकि अल नासर सँग दुई वर्षको सम्झौता गरेका रोनाल्डोले प्रति वर्ष २०० मिलियन युरो तलबमा पाउने छन्।

मेस्सीले हाल सम्म आफ्नो योजना भने सार्वजनिक गरेका छैनन्। उनले पिएसजी सँग नै सम्झौता विस्तार गर्ने धेरै चर्चा भए पनि हाल सम्म मेस्सीले सम्झौता विस्तार गरेका छैनन् यद्यपि मेस्सीको हालको सम्झौतामा १ वर्ष थप गर्न सक्ने पिएसजीको खण्ड रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ