मेस्सी प्रति समर्पित गर्दै नेमारले गरे यस्तो पोस्ट

फुटबल सुपरस्टार लिओनेल मेस्सीले पिएसजी छोड्ने भए पछि उनको टिम-मेट र निकै नजिकको साथी नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै मेस्सीलाई बिदाइ दिएका छन्।

गए राती भएको क्लेरमोन्ट फूट विरुद्धको खेल पिएसजीको लागि यो सिजनको अन्तिम खेल थियो भने मेस्सीको लागि उक्त खेल पिएसजीको जर्सीमा अन्तिम खेल बन्यो र आइतबार साँझ नेमारले सामाजिक सञ्जालमा मेस्सीलाई समर्पित गर्दै एक पोस्ट गरे।

“दाजु … हामीले सोचेको जस्तो भएन तर हामीले सबै प्रयास गर्‍यौँ। तपाई सँग थप २ वर्ष सँगै खेल्न पाउँदा धेरै खुसी लाग्यो। तपाईँको नयाँ चरणको लागी शुभकामना र सधैँ खुसी रहनुहोस्। म तपाईँलाई माया गर्छु”- नेमारले पोस्ट गरे।

बार्सामा पनि नेमार मेस्सीको टिम मेट रहेका थिए भने दुई बिच निकै राम्रो मित्रता रहेको छ र दुई फेरी पनि अलग हुने भएका छन्।

२०२१मा बार्सा छोडेर पिएसजी आएका मेस्सी हाल फ्री एजेन्ट बनेका छन् र उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहे पनि उनले आफ्नो भविष्यको योजना सार्वजनिक गरेका छैनन्। साउदी अरेबिया र अमेरिकी क्लबहरूको नजर उनी माथि रहेको बेला युरोपियन क्लबहरू पनि उनलाई भित्राउने प्रयासमा रहेको छ।

पिएसजीको लागि मेस्सीले ७५ खेल खेल्दै ३२ गोल र ३५ असिस्ट गरे र सो क्रममा उनले २ फ्रेन्च लिग उपाधि र १ फ्रेन्च सुपर कप जितेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ