पीएसजीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे र लियोनल मेस्सीले दुई दुई गोल गरे । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
सातौं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
यससँगै एमबाप्पेले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए ।
३८ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए ।
खेलको ६४ औं मिनेटमा ब्रुग्सका रिट्सले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै पीएसजीलाई ४-१ को जित दिलाए ।
यस जितसँगै पीएसजीले ६ खेलमा ११ अंक जोड्यो ।
पीएसजी समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
ब्रुग्स ४ अंक जोडेर समूहको पुछारमा रह्यो ।