मेस्सीको गोल र असिस्टमा अर्जेन्टिनाको जित

विश्वकप अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो ।

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल र अर्को असिस्ट गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

खेलको ६४औं मिनेटमा डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । मेक्सिको पुछारमा रहेको छ ।