इटालियन लिग सिरी ए अन्तर्गत आइतबार राती भएको खेलमा एसी मिलान पराजित भएको छ । टोरिनोसँग २-१ को अप्रत्यासित हारसँगै साविकको विजेता एसी मिलानले इटालियन सिरी ए को शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको छ ।
३५ औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए ।
६७ औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।
मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंक कम हो ।
यससँगै मिलानको सबैखाले प्रतियोगिता गरि १७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङगिएको थियो ।