माल्दिभ्सबाट अभिषेक रिजाल मनाङमा फर्किए

अभिषेक रिजाल मनाङ मर्स्याङ्दी क्लब फर्किएका छन् ।

माल्दिभ्सको ‘बी’ डिभिजन लिग खेलेर स्वदेश फर्किए लगत्तै अभिषेक मनाङमा आबद्द भएका हुन् । अभिषेकले धरानमा जारी बुढासुब्बा गोल्डकपमा मनाङको जर्सी लगाउने छन् । मनाङले सोमबार बेलबारी एफसीसँग खेल्दैछ ।

युवा फरवार्ड अभिषेकले बुढासुब्बाको लागि मनाङसँग सम्झौता गरेको बताए ।

‘यो प्रतियोगिता मनाङबाट खेल्ने भएको छु । अरु प्रतियोगिताको विषयमा निर्णय लिएको छैन, अभिषेकले भने ।

सहिद स्मारक ‘ए’ लिगका लागि मछिन्द्र आएका अभिषेक लिग नसकिदै माल्दिभ्स लागेका थिए । जेजे स्पोर्ट्स क्लबबाट खेलेका अभिषेकले ५ गोल गरेका थिए ।

गत सिजन पुलिसबाट लिग र मोफसल प्रतियोगिता खेलेका अभिषेक त्यसपछी एएफसी कप छनोट खेल्न लोनमा मनाङ पुगेका थिए । पन्जाबविरुद्धको अवे खेलमा उनले एक गोल गरेका थिए ।

अभिषेक एएफसी कपमा गोल गर्ने एक्ला खेलाडी हुन् ।

अभिषेकले राष्ट्रिय टिमका लागि समेत गोल गरिसकेका छन् । विश्वकप छनोट अघि अभिषेकले चाइनिज ताइपेसँगको मैत्रीपूर्ण खेलमा एक गोल गरेका थिए ।