ढाका । चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले शनिबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा अपरान्ह ४ः४५ देखि सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले हराएको थियो । सो खेलमा वर्षा ओली एक्लैले चार गोल गरेकी थिइन् । त्यस्तै, आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानविरुद्ध ८–० को फराकिलो जित निकाल्यो ।
नेपालले साफ यू–१५ मा हालसम्म बंगलादेशलाई हराउन सकेको छैन । नेपाल यसअघिका तीनै खेलमै बंगलादेशसँग हारेको विगत छ । सन् २०१७ को पहिलो भेटमा नेपालले बंगलादेशसँग ६–० को फराकिलो हार बेहोर्यो । त्यस्तै, सन् २०१८ मा बंगलादेशविरुद्ध नेपाल ३–० ले पराजित हुन पुग्यो ।
२०१९ को पछिल्लो भेटमा नेपालले बंगलादेशसँग २–१ को हार बेहोर्यो । आजको खेलमा नेपाललाई बंगलादेशविरुद्ध इतिहास रच्ने मौका छ । यद्यपि बंगलादेश घरेलु मैदानमा खेलिरहेकाले ऊविरुद्ध ऐतिहासिक जित निकाल्न नेपाललाई सहज भने पक्कै छैन । जारी प्रतियोगितामा नेपाल, बंगलादेशसहित भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।
गत संस्करण विजेता भारतले भने यसपटक सहभागिता जनाएको छैन । यसपालि अंक तालिकाको शीर्ष स्थानमा हरने टोली नै विजेता बन्नेछ । जारी प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल सोमबार भुटानविरुद्ध खेल्ने तालिका छ । चौथो खेलमा फेरि नेपालले आयोजक बंगलादेशको सामना गर्ने तालिका छ । यो खेल आउँदो बुधबार हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले मात्र प्रतिस्पर्धा गरिरहेका छन् ।