आज भएको मनाङ र मछिन्द्र क्लब बीचको खेल बराबरीमा सक्किए पछि खेल तनावग्रस्त स्थितिमा पुग्यो ।
मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केहि अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहिले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लियो ।
जगजितले पुन: दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर त्यसबेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केहि अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो ।
मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।
यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मे हम्मे परेको थियो । रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही भने गर्नेछ ।
खेलपछि बोल्दै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मनाङका खेलाडीले हातपात गरेपछि आफ्नो टोलीका खेलाडीले झगडा छुट्टयाउन मात्र गएको बताए । ‘ खेलाडीको अनुशासनहिन कार्यले त्यो स्थिति सिर्जना भयो । दुई खेलाडीबीच के भयो त्यो उनीहरुलाई थाहा होला तर त्यसपछि निकै राम्रो स्थिति थियो,’ प्रवेशले भने, ‘ हाम्रो खेलाडी केहि तनाव भएपछि छुट्याउन खोजेका थिए । रेफ्रीले विपक्षी खेलाडीलाई कार्ड नै पनि देखाए नि ।’
यता मनाङका नेपाली प्रशिक्षक धनेश्वर प्रजापति भने मैदानमा के भएको आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे । ‘म बेन्चमा नै रहेको थिएँ, मेरो अगाडी मान्छेको भिड थियो । मैले केहि पनि देखि,’ उनले भने । आफ्नो खेलाडीले गल्ति गरेको खण्डमा क्लबले जिम्मवारी लिन्छ? भन्ने प्रश्नमा भने उनी कड्किए, ‘ खेलाडीले गरेको गल्तीमा क्लबले जिम्मेवारी लिँदैन,’ उनले भने ।
मनाङका अर्का प्रशिक्षक नाइजेरियाका तोपे फुजाले भने खेलाडीको व्यवहारप्रति खेद प्रकट गरे । ‘मैले भिडियो हेर्न भ्याएको छैन, तर जुन खेलाडीले गरेपनि खेलको लागि यो राम्रो भएन । हाम्रो खेलाडी होस् विपक्षी खेलाडी होस्, निकै दुखद घटना हो,’ उनले भने । खेलको नतिजामा भने फुजाले मछिन्द्र राम्रो टोली भएकाले १ अंकबाट खुसी नै रहेको बताए ।
यता मिडफिल्डर जगजित श्रेष्ठ खेलको सुरुवातमा टोलीसँग वार्मअप नगरेको फुजाले स्वीकार गरे । आफूले प्लेइङ ११ मा नराखेपछि उनले वार्मअप नै छाडेर मैदानबाहिर गएको बताए । तर मनाङकै नेपाली प्रशिक्षक प्रजापतिले भने जगजित चोटका कारण वार्म नगरेको भन्दै ढाकछोप गर्न खोजे । फुजाले भने आफ्नो योजना अनुसार खेल्न नचाहे आफूले नखेलाउने भनेपनि क्लबका पदाधिकारीले पछि बेन्चमा ल्याएपछि दोस्रो हाफमा खेलाएको बताए ।
– हाम्रो खेलकुद