मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गर्द श्रीमतीले ज्यान गुमाए

नौगाड गाउँपालिका सुण्डमुण्डुमा शेरसिंह बडालले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन् । ३२ वर्षीय शेरसिंह बडालले शनिबार राति आफ्नै घरमा आगो लगाउँदा ३० वर्षीया श्रीमती विमला बडालको जलेर मृत्यु भएको छ।

राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको वडा सदस्य जयभानसिंह ठगुन्नाले भनेका छन्। घरमा कोही नभएको बेला बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए।

घरमा आगो लागेको देखेपछि घर छाडेर भागेकाहरु फर्किए। शेरसिंह बाबु बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । उनका श्रीमती विमला भने घरमा सामान निकाल्न जल्दै गरेको कोठामा पसेकी थिइन् । कोठा भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीसहितको टोली घटनास्थल पुगेको छ। आगो लगाएर परिवारको हत्या गरेको भएको पुष्टि भएको तर के कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए । आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन्।