नेपाली महिला यू–१९ टोली बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल लिगमा दोस्रो स्थानमा उक्लदै फाइनल नजिक पुगेको हो । बिएसएसएस मुस्ताफा कमल स्टेडियम ढाकामा शुक्रबार भएको खेलमा नेपालको सहज जितमा मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले समान एक गोल गरिन् ।
मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । १८औ मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । २१औं मिनेटमा रजनी थोकरले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । ७२औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपालको जित पक्का गरिन् ।
जितपछि अपराजित रहेको नेपालको ४ खेलबाट ७ अंक पुगेको छ । समान ७ अंक नै रहेपनि बंगलादेश गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत शुक्रबाको पहिलो खेलमा आयोजक बंगलादेशसँग १–० ले पराजित भएको छ ।
अब नेपालले लिगको अन्तिम खेलमा भारतसँग १९ डिसेम्वरमा खेल्दैछ । यो खेलमा जित हात निकाल्न सके नेपाल फाइनलमा प्रवेश गर्नेछ । बराबरीले पनि नेपालले फाइनलमा स्थान बनाउनेछ । नेपाल हारे भारतले फाइनल खेल्नेछ । नेपालसँग हार बेहोरेसँगै भुटान लिग चरणबाट बाहिरिएको छ ।