भिएआर खलनायक हुँदा टोटेन्ह्याम जित्न असफल

टोटेन्ह्यामले इङलिस प्रेमिएर लिगमा साउथह्याम्टनसँग बराबरी खेलेको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

सेन्ट मेरी स्टेडियममा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान जेम्स वार्ड प्रोजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । सलिसुको लामो थ्रु बललाई जेम्सले नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए । २९औं मिनेटमा ह्यारी केनको फ्रिकिकलाई साउथह्याम्टनका गोलरक्षक फ्रोर्सटरले बचाए ।

३९औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ह्युङ मिन सनलाई पेनाल्टी बक्समा फउल गरेपछि मोहम्मेद सलिसु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५३औं मिनेटमा केनले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता नपाउँदा टोटेनहम अग्रता लिनबाट चुक्यो । गोलको मुभमा पास दिने ह्यारी विङ्स अफसाइड पोजिसनमा देखिएको थियो । ६७औं मिनेटमा म्याट दोहर्थीले गोल गरेपनि उनको गोलले पनि मान्यता पाएन ।

त्यसपछि पनि टोटेनहमले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा टोटेनहम बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँगै टोटेनहम १७ खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । साउथह्याम्टन २१ अंंक जोडर १३औं स्थानमा छ ।