‘भाल्भर्डेले गर्दा रियलले उपाधि जित्न सफल भयो’ – सिमोने

एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनेले रियल मड्रिडका खेलाडी फेडेरिको भाल्भर्डेको फलका कारण आफ्नो टोलीले हार ब्यहोर्नुपरेको आरोप लगाएका छन् ।

स्पेनिस सुपर कपको फाइनलमा रियलसँग पराजित भएपछि पत्रकारसँग बोल्दै सिमोनेले भाल्भर्डेका कारण आफ्नो टोली स्तब्ध भएको बताएका हुन् ।

खेलको १ सय १५औं मिनेटमा रियलका स्टार भाल्भर्डेले रातो कार्ड पाएका थिए । एथ्लेटिकोका अल्भारो मोरोटामाथि ट्याकल गरेका उनले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित बन्न पुगेको थियो । मोरोटाले बल अगाडि बढाउँदै गरेको अवस्थामा उनले ट्याकल गर्दै रियललाई सम्भावित हारबाट बचाएका थिए ।

खेलको निर्धारित र अतिरिक्त समय गोलविहीन भएको उक्त खेल पेनाल्टी सुटआउटमा परिणत भयो । जसमा, रियलले ४–१ गोलले जित निकाल्दै उपाधि जित्यो । ‘भाल्भर्डेले खेलको महत्त्वपूर्ण समयमा ट्याकल गरे’ सिमोनेले भने, ‘मैले उनलाई पनि भनेको पनि थिएँ कि तिमीले खेल नै परिवर्तन गरिदियौ ।’

‘मेरो विचारमा भाल्भेर्डेलाई म्यान अफ द म्याच दिँदा बेस हुन्थ्यो’, उनले भने, किनकी उनको फलका कारण नै रियलले सुपर कोपाको उपाधि जितेको हो । रियल र एथ्लेटिको दुवैले उस्तै मौका पाएका थिए तर भाल्भर्डेको एउटा क्रियाकलापले हामीले खेलमा निराश हुनुपरेको हो ।’