ब्राजिल भर्सेस दक्षिण कोरिया : हेड टु हेड

ढोहा । कतारमा जारी फिफा विश्वकपमा आज नकआउट चरणमा उपाधि दाबेदार ब्राजिलले एसियन टिम दक्षिण कोरियासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ मा स्टेडियम ९७४ मा सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन ।

समूह चरणको अन्तिम खेलमा क्यारुनसँग हार बेहोरेको ब्राजिल त्यो नतिजा बिर्सदै दक्षिण कोरियाविरुद्ध जित हात निकाल्दै क्वार्टरफाइलको यात्रा तय गर्न चाहन्छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया पनि त्यसलाई निरन्तरता राख्दै ब्राजिललाई हराउने योजनामा छ ।

हालसम्म ब्राजिल र दक्षिण कोरियाले विश्वकपमा एकअर्काविरुद्ध खेलेका छ्रैनन् । यद्यपि हालसम्म यी दुई टिमले विभिन्न सात अन्तर्राष्ट्रिय खेलमा भने एकअर्काको सामना गरिसकेका छन् । जसमा ब्राजिलले ६ तथा दक्षिण कोरियाले एक जित हात पारेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत सन् १९९५ को पहिलो भेटमा ब्राजिल १–० ले विजयी भएको थियो । सन् १९९७ को निक वर्ल्ड टुरमा पनि ब्राजिल २–१ ले विजयी भयो ।

सन् १९९९ मा १–० को हार बेहोरेको ब्राजिलले २००३ मा ३–२, २०१३ मा २–० र २०१९ मा ३–० को जित हात पारेको थियो । यी सबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत यही वर्ष भएको पछिल्लो भेटमा ब्राजिलले दक्षिण कोरियालाई ५–१ गोल अन्तरले हराएको थियो । दक्षिण कोरिया र ब्राजिलबीचको विजेताले जापान र क्रोएसियाबीचको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।