मछिन्द्र क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजनको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । सेट पिसमा गोल निकाल्ने क्रममा सुनिलले नुरेन करिमको फ्रि-किकमा हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा रन बनाएर गोल गरेका हुन् ।
खेलको ३३ औं मिनेटमा मनिष डाँगीको क्रसमा मछिन्द्रका सुनिल ट्याप इन गर्न असफल भए ।
४७ औं मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले जोगाएपछि हिमालयन बराबरी गर्न चुकेको थियो ।
खेलको ६८ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । विशाल राईको कर्नरमा हिमालयनका सुरेश कुमाललाई लाग्दै आएको बलमा सिक्स यार्ड बक्समा रहेका नुर्लानले पोस्टको जाली चुमाए ।
त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमलले आन्द्रेस नियाको पासलाई सदुपयोग गरे ।
खेलमा मछिन्द्रका छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए । हिमालयनका उमेश राईले इमर्जिङ प्लेयर प्लेयरको अवार्ड जिते ।