बार्सिलोनाले ३-० को अग्रता जोगाउन नसक्दा जित्न असफल

बार्सिलोनाले स्पेनिस ला लिगमा खराब नतिजाको लयलाई शनिबार पनि निरन्तरता दिएको छ । सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३-० को अग्रता लिनका बाबजुद टोली ३-३ को बराबरीमा रोकिएको हो ।

गत साता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि लयमा फर्कन प्रयासरत टोलीले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । १८ औं मिनेटमा सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गर्दै अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना जिततर्फ उन्मुख देखिएको थियो ।

तर दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो । चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन् । बार्सिलोना केहि रक्षात्मक भएको फाइदा उठाउँदै इयागो आसपासले ५२ औं मिनेटमा पहिलो गोल गरे । ७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे । इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा सुन्दर गोल गर्दै खेल बराबर गरेका थिए ।

यससँगै बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन । बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ । कोम्यानको बर्खास्तीपछि सर्जी बार्जुआनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । क्लबले शुक्रबार मात्र जाभीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । उनी सोमबार औपचारिक रुपमा क्लबमा आबद्ध हुनेछन् ।