बार्सिलोनाको फराकिलो जितमा मेस्सीको यस्तो उत्कृष्ट गोल

बार्सिलोनाले ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ५–१ को फराकिलो जित हात पारेको छ ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा थप एक गोल जुनियर फिर्पाेको नाममा रहँदा एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता बनाएको थियो । उनले मोरिवाको पासलाई सदुपयोग गरेका थिए ।

३६ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटम मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५७ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

त्यसपछि बार्सिलोनाले ७ मिनेटको अन्तरमा ३ गोल गर्दै सहज जित निकाल्न सफल भयो । ७४ औं मिनेटमा ट्रिन्काओले मेस्सीको पासलाई सदुपयोग गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५ औं मिनेटमा कप्तान मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याए ।

८० औं मिनेटमा जुनियर फिर्पाेले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि गोल अन्तरमा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्ल्टिको म्याड्रिडको २१ खेलबाट ५४ अंक छ । पराजित एलाभेस २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।