फुटबलका लागि विश्वको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का मेडिकल कमिटीका प्रमुख मिचेल डिहुगले कोरोनाको संक्रमणलाई फैलिन नदिन सेप्टेम्बरसम्म फुटबलका खेलहरु आयोजना गर्न नहुने सुझाव दिएका छन् ।
स्काइस्पोर्टसँगको कुराकानीमा डिहुगले अहिलेको अवस्थामा स्वास्थ्यमा बढि केन्द्रित हुनुपर्ने सुझाएका हुन् ।
पछिल्लो समय जर्मन लिग बुन्डेसलिगा र इङ्ग्ल्यान्डको प्रिमियर लिग बन्द रंगशालामा गराउने बहस चलिरहँदा उनको यो भनाइ आएको हो ।
त्यस्तै उनले फुटबल शुरु भएपछि मैदानमा थुक्ने खेलाडीलाई पनि पहेलो कार्ड दिनुपर्ने सुझाएका छन् ।
दोस्रो विश्वयुद्दपछि अहिले एउटा नाटकीय अवस्थामा रहेको भन्दै यो अवस्थालाई कसैले अवमूल्यन गर्न नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा नै लिग शुरु गरिहाल्नु हतारो हुने जनाएका छन् ।