बायर्न म्युनिकले डिएफबी कप अन्तर्गत बुधबार भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाचसँग ५-० को लज्जास्पद हार बेहोरेको छ । ग्लाडबाचको जितमा ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले २-२ तथा कउडियो कोनेले १ गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै घरेलु टोली ग्लाडबाचले अग्रता लिएको थियो । ब्रिल एम्बोलोले बायर्नका अल्फोन्सो डेभिसको गल्तिको फाइदा उठाउँदै कोउडियो कोनेलाई पास दिएका थिए । कोनेले गोल गर्दै स्तब्ध बनाएका थिए ।
पहिलो रोजाइको टोली उतारेको बायर्नले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । १५ अौं मिनेटमा जोनास हफम्यानको कटब्याकमा रामी बेन्सबाइनिको प्रहार गोलरक्षक म्यानुएल नोएरले बचाउन नसक्दा ग्लाडबाक २-० ले अघि बढ्यो ।
खेलको २१ अौं मिनेटमा नै बायर्न ३-० ले पछि परेको थियो । लुकास हर्नान्डेजबाट ब्रिल एम्बोलोमाथि पेनाल्टी क्षेत्रभित्र फल भएको कारण रेफ्रीले पेनाल्टी दिए । जवाफमा बेन्सबाइनिले पेनाल्टीमार्फत गोल गर्दै ३ गोलको अप्रत्यासित अग्रता दिलाए ।
दोस्रो हाफमा बायर्नले पुनरागमनको प्रयास जारी राखेपनि ग्लाडबाच नै अग्रता बढाउन सफल भयो । ५१ अौं मिनेटमा डायोट उपामेकानोको गल्तीको फाइदा उठाउँदै एम्बोलोले गोल गरे । ५७ अौं मिनेटमा एम्बोलोले नै एकल प्रयासमा गोल गर्दै ५-० ले अघि बढाए ।
त्यसपछि संयमित खेल खेलेको बायर्न आधुनिक इतिहासकै खराब नतिजा बेहोर्न बाध्य भयो । यस प्रतियोगितामा बायर्नविरुद्ध कुनैपनि टोलीले हासिल गरेको सबैभन्दा ठूलो जित यही हो । बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमा नै बाहिरिन पुगेको छ ।
यस हारसँगै बायर्न प्रतियोगिताबाट पनि बाहिरिन पुग्यो । बायर्नले पहिलो रोजाइका खेलाडी उतारेपनि प्रशिक्षक जुलियन नागल्सम्यान भने उपस्थित थिएनन् । उनी कोरोना संक्रमणका कारण पछिल्लो खेलमा पनि अनुपस्थित थिए ।