प्रशिक्षक अल्मुताईरी नेपाल फर्कने लगभग पक्का

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी पुनः नेपाली राष्ट्रिय फुटबल टोलिको मुख्य प्रशिक्षकको रुपमा पुन: आबद्ध हुने निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का एकजना पदाधिकारीले बताएका छन् ।

एन्फा पदाधिकारीले मेरोखेल डटकमसँग कुरा गर्दै अल्मुताईरी नेपाली टोलिको प्रशिक्षकको रुपमा पुन: नेपाल आउने निश्चित भएको बताएका हुन् ।

अल्मुताईरी र एन्फाबिचको आधिकारिक सम्झौता दुईदिन पछि अर्थात कार्तिक ५ गते सक्किदैछ । त्यस लगतै स्रोतका अनुसार अल्मुताईरीसँग दोश्रो चरणको औपचारिक रुपमा थप एक वर्षका निम्ति मुख्य प्रशिक्षकको सम्झौता अघि बढाउने सहमति भएको छ ।

‘अहिलेलाई अल्मुताईरीसँग अघि बढ्नका निम्ति भएको छलफल शत प्रतिशत मिलेको छ । उनी पनि नेपालको प्रशिक्षकको भुमिका निभाउन आतुर र तम्तयार भएका छन् । उनले केही समय घर गएर आउने र नेपाल फर्किएर सम्झौताको लागि थप विषयलाई टुङ्गयाएर अघि बढ्नेमा सहमति जनाएका छन् । उनी आउँछन् र नेपाली टोलि सम्हाल्छन् ।’

स्रोतका अनुसार पछिल्लोसमय कतार फुटबल संघले उनीसँग भएको तलबको विषयमा थोरै ढिला गर्ने गरेको र त्यसबाट उनी थोरै निराश बन्दै गरेको अवस्थामा साफ च्याम्पियनसिपमा साफले पनि उनलाई फाईनल खेल अघि लगाएको प्रतिबन्धका कारण रुष्ट बनेको बताए । स्रोतका अनुसार नेपालका केही मिडियाले भारतसँगको खेलपछि खेलमिलेमतो हुन सक्ने नाजायज कोणबाट समाचार सम्प्रेषण गरेको कारणले पनि अल्मुताईरीले नेपाल नफर्कने मनसाय बनाएका थिए ।

स्रोतले भने,‘अल्मुताईरी पछिल्लो समय कतार एफले गरको प्रतिबद्धता अनुरुपको तलब समयमा नआउने लगायत केही विषयमा चिन्तित थिए । त्यसमा फेरी कुन चाँँहि एउटा मिडियाले भारतको प्रशिक्षकसँग मैदानमा भेटेको र त्यस लगतै खेल मिलेमतो हुन सक्ने झल्को आउने गरी समाचार लेख्यो क्या हो र फेरी साफले फाईनलमा प्रतिबन्ध लगाईदियो । यस्तो घटनाक्रमहरुले उसलाई विक्षिप्त बनाएकै हो ।’

स्रोतले एन्फा र अल्मुताईरीबिच अनौपचारिक रुपमा नेपालमा फर्किएर काम गर्नको निम्ति पूर्ण सहमति बनिसकेको र अब उनी नेपाल आएर सम्झौतापत्रमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको जानकारी समेत गराए ।

अल्मु्ताईरीलाई उद्घृत गर्दे स्रोतले भने,‘पछिल्लो घटनाक्रमहरुलाई मैले मनबाट लिएको छुईन तर साफको ब्यवस्थापनले गरेको नाजायज ब्यवहार र केही मिडियाले लेखेको समाचारका कारण मैले आवेशमा नभई पूर्ण विचार गरेर बोलेको थिए । तर नेपाली फुटबलका निम्ति आवश्यकता परेकोले आफू नेपाल फर्कने प्रतिबद्धता नै जनाउँछु तर म केही समय आराम गरेर फ्रेश भएर आउँछु ।’

यतिबेला एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा कतार फुटबल संघसँग अल्मुताईरीलाई पुन नेपाल फर्काउने विषयमा छलफल गर्न कतारमा छन् ।

यसअघि असार १७ गतेृ पनि एन्फाले अल्मुताईरीसँग आन्तरिक छलफल पश्चात एक वर्षको लागि अर्थात २०७९ को असोज १४ गतेसम्मका निम्ति सम्झौता गरेको थियो । उक्त सम्झौता एन्फाले कतार फुटबल संघमा पठाएको थियो तर कतारको संघबाट स्विकृत भईनसकेकोले अन्यौमा पर्दे आएको थियो । अल्मुताईरीलाई कतारले तलबभर्ना गर्ने गरी एन्फाको प्रशिक्षकहरुलाई प्रशिक्षण दिने गरी नेपाल पठाएको थियो ।

तर एन्फाले आन्तरिक सहमतिमा अल्ुमताईरीलाई राष्ट्रिय टोलिको प्रशिक्षकमा नै नियुक्ति दिएको थियो ।

अल्मुताईरीले बंगलादेशसँगको खेल सक्किए लगतै असोज २७ गते नेपाली राष्ट्रिय टोलिको प्रशिक्षकको रुपमा अघि नबढ्ने र नेपाल पनि नफर्कने घोषणा गरेका थिए ।

विभिन्न समयमा आफ्नो विवादास्पद अभिब्यक्तिका कारण अल्मुताईरी नेपालमा रहँदा सदैव चर्चाको विषयमा रहँदै आएका छन् । उनको अभिब्यक्ति प्रति सकारात्मक र नकारात्मक विचार बोक्ने ब्यक्तिहरुको छुट्टा छुट्टै कित्ता समेत रहँदै आएको छ ।

तर उनको सबल पक्ष भने खेलाडीहरुलाई दबाबहिन बनाउँदै स्वतन्त्र खेल खेल्न छुट दिने देखिएको छ । उनको आगमनपछि खेलाडीहरुको बेबाक भएर आक्रमक रुपले मैदानमा खुट्टा चाल्न सक्ने बनाएकै हुन् ।

अल्मुताईरीको प्रशिक्षणमा नेपालले अहिलेसम्म कुल ११ खेल खेल्दा ११ वटा गोल समेत गरिसकेको छ । यदि ओमानसँगको एक अनौपचारिक खेलको पनि गणना गर्ने हो भने नेपालले १२ खेलमा १३ गोल गरेको छ ।

उनकै प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको फाईनलमा पहिलोपटक पुग्न सफल भएको हो । यद्यपी फाईनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुन पुगेको थियो ।