ट्वान्टी–२० मा स्कटल्यान्डबाट ओपनिङ ब्याटिङ गर्दै आएका जर्ज मुन्सीलाई पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ ।
🏏 @cricketscotland batsman @georgemunsey looking forward to ‘hitting a few bombs’ with Chris Gayle (@henrygayle) after signing Everest Premier League (@eplt20official) deal with Pokhara Rhinos 🦏https://t.co/C2eHwx0LVQ
— Scotsman Sport (@ScotsmanSport) February 20, 2020
पोखराले यसअघि नै वेस्ट इन्डिजका ब्याटिङ हस्ती क्रिस गेल र तीब्र बलर केसरिक विलियम्सलाई लिइसकेको छ ।
देव्रेहाते मुन्सीले सेप्टेम्बरमा नेदरल्यान्ड्ससँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५६ बलमा १ सय २७ रन बनाउँदै स्कटल्यान्डका कप्तान कायल कोएट्जरसँग पहिलो विकेटमा २ सय रन जोडेका थिए ।
गत वर्ष ईपीएलमा पोखरा राइनोजका कप्तान कोएट्जर नै थिए । पोखरा एकै खेल नजिती पुछारमा रह्यो । मुन्सीले नेपाल आएर पोखराबाट ईपीएलमा खेल्न आतुर रहेको जनाएका छन् ।
उनले राष्ट्रिय टोलीबाट ३८ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९ सय ८७ रन बनाइसकेका छन् । त्यसमा नेदरल्यान्ड्ससँग बनाएको त्यो शतक र अन्य ५ अर्धशतक छ ।
उनले २५ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय ६२ रन बनाएका छन् । सन् २०१५ मा इंग्ल्यान्ड भ्रमणमा आएको अस्ट्रेलियाविरुद्ध टुर म्यान खेल्दै २६ वर्षे मुन्सीले प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।
६ फ्रेन्चाइज टोली समावेश ईपीएल मार्च १४ बाट २८ सम्म आयोजना हुनेछ । त्यसमा अर्का स्कटिस खेलाडीको खेल हेर्न आफू व्यग्र रहेको पोखरा राइनोजकी मालिक दीपा अग्रवालले जनाएकी छन् ।
@Kantipur