पिएसजीले एम्बाप्पे नबेच्ने, पेरिसबाटै खेल्ने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले आफ्ना स्टार स्ट्राइकर किलियन एम्बाप्पेलाई यस सिजन क्लब मै राख्ने र खेलाउने भएको छ ।

यससंगै पिएसजी र किलियन एम्बाप्पेबीचको विवाद मिल्ने संकेत देखिएको छ ।

पिएसजीले एम्बाप्पेलाई आफ्नो पहिलो टिमसँग प्रशिक्षण गर्न अनुमति दिएसँगै विवाद मिल्ने संकेत देखिएको हो ।

पिएसजीले यसअघिको प्रि-सिजन टूरमा एम्बाप्पेलाई पहिलो टिमबाट बाहिर राखेको थियो ।

मिडिया रिपोर्टका अनुसार पिएसजीको गएराती लोरेन्टविरुद्धको खेल अघि एम्बाप्पेसँग छलफल गरेको थियो । सो छलफलमा सकारात्मक प्रगति भएको भन्दै एम्बाप्पेलाई पहिलो टिमको प्रशिक्षणमा समावेश गर्ने पिएसजीले बताएको छ ।

रिपोर्टका अनुसार एम्बाप्पे पिएसजीमा एक बर्ष सम्झौता नवीकरण गर्न तयार भएको उल्लेख गरिएको छ ।

हाल २०२४ को जुनसम्म पिएसजीमा सम्झौता रहेका एम्बाप्पे त्यसपछि रियल म्याड्रिड जाने तयारीमा रहेका छन् । एम्बाप्पेले अहिले सम्झौता नवीकरण नगरेमा उनी फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जाने हुनाले पिएसजीले आपत्ति जनाएको थियो ।

पिएसजीले एम्बाप्पे जस्तो हाई-प्रोफाइल खेलाडीलाई नि: शुल्क जान नदिन दबाब बनाइरहेको थियो ।

यस बिचमा पिएसजीले एम्बाप्पेलाई पहिलो टिमबाट बाहिर राख्ने देखि, आफ्नो स्टेडियम बाहिर रहेको एम्बाप्पेको तस्बीर हटाउने र आफ्ना पेरिसमा रहेका सुपर स्टोरहरुमा एम्बाप्पेको जर्सीको बिक्री समेत बन्द गरेको थियो ।

एम्बाप्पे अर्को खेलको लागि उपलब्ध हुने पिएसजीले बताएको छ ।